सलह नेपाल पसेपछि कृषिमन्त्रीको एक्सन, पाकिस्तानी परामर्शमा बन्दैछ नियन्त्रण योजना

 

काठमाडौं । वनस्पति नाशक कीरा सलह नेपाल भित्रिएपछि कृषिमन्त्री घनश्याम भुसालले तत्काल नियन्त्रण योजना बनाउन विज्ञ परिचालन गर्नुभएको छ । मन्त्रीको निर्देशनमा कृषि मन्त्रालय मातहतका विज्ञले शनिवार पाकिस्तानी वैज्ञानिकसँग नियन्त्रण उपायबारे परामर्श लिएका छन् ।

मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसी, प्लान्ट क्वरिन्टिन तथा विषादी व्यावस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईसहित एक दर्जन विज्ञले पाकिस्तानी किट वैज्ञानिकसँग दुई घण्टा भर्चुअल छलफल भएको र छलफलका आधारमा योजना निर्माण गरी आइतबार मन्त्रीलाई पेश गर्ने मन्त्री भुसालका स्वकीय सचिव शालिकराम भण्डारीले जानकारी दिनुभएको छ ।

सलह नियन्त्रणमा सफलता हात पारिसकेको पाकिस्तानी मोडल उपयोगी हुनसक्ने भएकाले कृषिविज्ञहरुले पाकिस्तानी टोलीसंग वैठक गरेको हो । एफएओ थाइल्यान्डको संयोजनमा तत्कालै वैठक बसेर नियन्त्रण योजनाको तयारी गरिएको कृषि मन्त्रालय स्रोतले जानकारी दिएको छ । सिन्धुली बुटवल लगायतका क्षेत्रमा आकाशै ढाकिने गरी सलह आएको भिडियो भाइरस भएको छ ।