८० हजार साना होटल गेष्टहाउसलाई स्तरीय क्वारेन्टीन बनाउन सांसद झाँक्रीको सुझाव

 

काठमाडौं । प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले कोरोना भाइरस महामारी नियन्त्रण र अर्थतन्त्रलाई जोगाउन ८० हजार साना होटल गेष्टहाउसलाई स्तरीय क्वारेन्टीन बनाउन माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभा वैठकको शुन्य समयमा बोल्दै सांसद झाँक्रीले कोरोनाका कारण शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन स्टीमुलस प्याकेज, रिफाइनान्सिंग प्याकेज वा मौद्रिक नीतिले समेट्न नसकेका स्वरोजगारमूलक उद्योग र २०, ३०, ५० को संख्यामा रोजगारी दिएका उद्योग, होटल गेष्ट हाउस बचाउन पनि सरकारले तिनलाई प्रयोगमा ल्याउने नीति लिनुपर्ने बताउनुभयो ।

साना होटल व्यवसाय बचाउने पनि सरकारको दायित्व भएको बताउँदै सांसद झाँक्रीले ८० हजारको संख्यामा रहेका त्यस्ता होटलहरुलाई व्यवस्थित क्वारेन्टीन बनाउन सक्दा संक्रमण फैलिने कुरालाई पनि नियन्त्रण गर्ने बताउनुभयो । साना मझौला र सुविधाका लागि मापदण्डमा नपर्ने यस्ता स्वरोजगारमूलक होटलहरुलाई लाभ दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।