वार्नरको अर्धशतक अस्ट्रेलिया बलियो स्थितिमा

 

अस्ट्रेलियाले एसेज टेस्टअन्तर्गत पाँचौँ तथा अन्तिम खेलमा इंग्ल्यान्डलाई गतिलो ब्याटिङ जवाफ दिएको छ । इंग्ल्यान्डले पहिलो इनिङ ३ सय ४६ रनमा सीमित पार्‍यो । प्रत्युत्तरमा अस्ट्रेलियाले पहिलो इनिङमा २ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको छ । अस्ट्रेलिया पहिलो इनिङमा १ सय ५३ रनले पछाडि छ । अस्ट्रेलिया सिरिजमा ३–० ले अगाडि छ । चौथो टेस्ट बरबरीमा सकिएको थियो ।

वार्नरको अर्धशतक
ब्याटिङमा अस्ट्रेलियाले कमजोर सुरुवात गरेको थियो । इनिङको आठौँ बलमै ओपनर बान्कोफट शून्य रनमा आउट भए । उनलाई स्टुवाट बोडले बोल्ड गर्दा अस्ट्रेलिया १–१ को स्थितिमा रह्यो । त्यसपछि डेभिड वार्नर र उस्मान खुवाजाबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी भयो । जेम्स एन्डर्सनले वार्नरलाई आउट पारे । वार्नरले १ सय ४ बलमा ६ चौकाको सहयोगमा ५६ रनको योगदान दिए ।

उस्मान शतकनजिक
अस्ट्रेलियाका लागि खुवाजा र कप्तान स्टिभ स्मिथले तेस्रो विकेटका लागि १ सय ७ रनको साझेदारी गरे । उनीहरू दुवै दिनको समाप्तिसम्म नटआउट रहे । उस्मान ९१ रनमा खेलिरहेका छन् । शतकीय इनिङ खेल्न उनी ९ रनले पछाडि छन् । यसक्रममा उनले २ सय ७ बलको सामना गरी ७ चौका र १ छक्का प्रहार गरेका छन् । त्यसैगरी, स्मिथले ८८ बलमा ३ चौका प्रहार गरी ४४ रन बनाएका छन् ।

थप १ सय १३ रन
इंग्ल्यान्डले दोस्रो दिनको खेल २३५÷५ बाट सुरु गर्‍यो । इंग्ल्यान्डले थप ५ विकेटका लागि १ सय १३ रन बनायो । इंग्ल्यान्डका लागि कप्तान जोए रुटले सर्वाधिक ८३ रनको योगदान दिए । उनले १ सय ४१ बलमा ८ चौका प्रहार गरे । त्यसपछि मालनले ६२ तथा क्युरानले ३९ रन जोडे । क्युरानले ६५ बलमा ६ चौका प्रहार गरे । बोडले ३२ बलमा २ छक्का र १ चौकाको सहयोगमा ३१ रन बनाए । अस्ट्रेलियाका लागि क्युमिन्सले ८० रन दिएर ४ विकेट लिए ।

भारत कमजोर
केपटाउन/दक्षिण

अफ्रिकाविरुद्धको पहिलो टेस्टमा भारतले कमजोर ब्याटिङ गरेको छ । भारतले तेस्रो सेसनको खेल समाप्तिसम्म ३ विकेटको क्षतिमा २८ रन बनाएको छ । दक्षिण अफ्रिका पहिलो दिन २ सय ८६ रनमा अलआउट भयो । पहिलो इनिङमा भारत अझै २ सय ५८ रनले पछाडि छ ।

दक्षिण अफ्रिकालाई पहिलो इनिङमा सस्तोमा अलआउट पारेको भारतले बलियो ब्याटिङ प्रस्तुत गर्ने अपेक्षा थियो । उत्कृष्ट ब्याटिङ गरिरहेका भारतीय तीन शीर्ष ब्याट्सम्यान ११ रनको अन्तरमा पेभेलियन फर्किए । इनिङको ४.४ ओभरमा फिलान्डरले ओपनर मुरली विजयलाई १ रनमा आउट पारे । मुरली आउट हुँदा भारत १६–१ को स्थितिमा थियो । त्यसपछि ५.२ ओभरमा डेल स्टेनले शिखर धवनलाई कट एन्ड बोल्ड गर्दै भारतलाई १८–२ को स्थितिमा राखे । गत सिजनमा उत्कृष्ट ब्याटिङ गरेका कप्तान विराट कोहलीलाई मोर्ने मोर्केलले डी कोकबाट क्याचआउट पारे । कोहली आउट हुँदा भारत २७–३ को कमजोर अवस्थामा रह्यो । भारतले ३ विकेट केवल ११ रनको अन्तरमा गुमाएको हो ।

पहिलो इनिङमा भारतका भुवनेश्वर कुमारले कसिलो बलिङ गरे । कुमारले कसिलो बलिङ गर्दै ४ विकेट लिँदा दक्षिण अफ्रिकाको बलियो मानिएको ब्याटिङ एकाएक कमजोर देखियो । सो इनिङमा एबी डी भिलियर्सले सर्वाधिक ६५ रन बनाए । उनले ११ चौका प्रहार गरे । कप्तान फा डु प्लेसिसले १२ चौकाको सहयोगमा ६२ रन जोडे ।