४४ वर्षसम्म देखिन्नँ आजको जस्तो सूर्यग्रहण, यस्तो छ रहस्य

 

काठमाडौं । नेपालमा आज (आइतबार ७ असार) खण्डग्रास सूर्यग्रहण लाग्दै छ । बिहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने वाल्मीकि क्याम्पसका सहप्राध्याक तथा वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिनुभएको छ ।
मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने पनि आचार्यले बताउनुभयो । यस्तै नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोलविद् आचार्यले जानकारी दिनुभयो ।
नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने आचार्य बताउनुहुन्छ । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गइ चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ र त्यसलाई नै सूर्य ग्रहण भनिन्छ ।
यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहरू भने सूर्यग्रहण जो कोहीले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्यता राख्छन् ।