एमसीसी इन्डो–प्यासिफिक स्ट्राटेजी (आइपीएस) कै अंग हो : अमेरिकी दूतावास

 

काठमाडौँ । विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा विचाराधिन अवस्थामा छ । नेपालमा अन्तरदेशीय प्रसारण लाइन र सडक विस्तारका क्षेत्रमा काम गर्न अनुदान सहयोगको प्रस्तावका रुपमा आएको एमसीए परियोजना विवाद बढ्दै जाँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको मतभेदका कारण पारित हुन सकेको छैन ।

एमसीसी इण्डो प्यासिफिक स्ट्रटेजी अन्तर्गत हो वा होइन भन्ने विवाद चलिरहँदा अमेरिकी दुतावासले यस क्षेत्रका अमेरिकी सहयोग आइपीएस अन्तर्गत नै भएको जनाएको छ ।

दुतावासले इन्डो–प्यासिफिक स्ट्राटेजी अमेरिकी नीति भएको र यो यस क्षेत्रमा गरिने कामका लागि दिइएको नाम भएको अमेरिकी दूतावासका अधिकारी कार्ल रोजर्सले बताउनुभएको छ । यो कुनै संगठन वा गठबन्धन नभएको र नेपाल वा अन्य कुनै देशलाई यसमा सहभागी हुन आग्रह भने नगरिएको बताउनुभयो ।

इन्डो–प्यासिफिकमा सहभागी देशको हितका लागि तय गरिएको नीति भएको जानकारी समेत उनले दिए । यो नीति अनुसार नेपाल बलियो हुँदा अमेरिका बलियो हुने, नेपाली स्वस्थ हुँदा अमेरिकी स्वस्थ हुने उहाँले बताउनुभयो ।

सार्वभौमिकता, स्वतन्त्रता, खुलापन र सुरक्षाको सिद्धान्त उल्लंघन गर्ने जुनसुकै देशविरुद्धमा संरक्षणको संयन्त्र निर्माण गर्ने उद्देश्य इन्डो–प्यासिफिक रणनीतिको रहेको उहाँले बताउनुभयो ।
अन्तर्राष्टिय विकासको नयाँ ढाँचाका रूपमा एमसीसी सन् २००२ मा सुरुवात गरिएको हो । यो विश्वरभी रहेका सबै महादेश गरी ५० राष्ट्रमा लागू भइरहेको जानकारी रोजर्सले दिनुभयो ।