आज निर्जला एकादशी (यस्तो छ तुलसीको महत्व)

 

काठमाडौं । आज निर्जला एकादर्शी । हिन्दूहरुले आज घरघरमा तुलसीको दल राखेर एकादशी पर्व मनाउँछन् । मैथिल संस्कृतिमा पनि निर्जला एकादर्शीलाई विशेष पर्वका रुपमा मनाइन्छ ।

जेठ शुक्ल एकादशीका दिन धार्मिक तथा आयुर्वेदिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार राखिएको तुलसीको दललाई नियमानुसार पूजा गरेर राखिन्छ । दल राखेर एक महिनापछि असार शुक्ल एकादशीका दिन मठमा सार्ने चलन हिन्दू मैथिल सभ्यतामा छ ।

tulsi 3असार शुक्ल एकादशीका दिन आराध्यदेव भगवान् विष्णु समुद्रमा शयन गर्ने भएकाले उक्त दिनलाई हरिशयनी एकादशी भनिन्छ र सो दिन मठमा तुलसीलाई सारिन्छ ।

असार शुक्ल एकादशी देखि कात्तिक शुक्ल एकादशी सम्मको ४ महिनालाई चतुर्मास भनिन्छ । यो अवधि वैष्णवहरुले विशेष उत्सवका रुपमा मनाउँछन् । कार्तिक शुक्ल एकादर्शीमा विष्णु भगवान समुद्रको शयनबाट व्युँझेको मानिन्छ ।

पृथ्वीमा रहेका वनस्पतिमा तुलसीलाई ‘अमृत’ का रूपमा मानिन्छ । आधुनिक विज्ञानले पनि तुलसी अत्यधिक अक्सिन उत्पादन गर्ने गुणवान बुटीको रुपमा मानेको छ । भगवान् विष्णुसँग जोडिने सबै धार्मिक अनुष्ठानमा तुलसी पत्र अनिवार्य मानिने हुँदा हिन्दू मैथिल घरघरमै पवित्र मठ बनाएर तुलसी रोप्ने गर्दछन् ।

यस्तो छ तुलसीको महत्व

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन्। (औसिमम सैक्ंटम) तुलसी ‘लैबिएती’ कुल अन्तर्गत पर्दछ। यो तुलना रहित हुने हुनाले यसको नाम तुलसी रहेको छ भने यसको रस उपयोगी हुने र देवतालाई समेत चढाइने हुनाले सुरसा पनि भनिन्छ।

tulsi 1तुलसीलाई अंग्रेजीमा सैक्रेड बेसिल वा होली बेसिल पनि भनिन्छ। आयुर्वेद, द्रव्य गुणविज्ञानका अनुसार यसको गुण लघु,रुक्ष : रस- कटु,तिक्तः विपाक-कटु र वीर्य उष्ण रहन्छ। तुलसी वातश्लैष्मिक विकारका लागि उपयुक्त रहन्छ।

कृमिरोग,विष्टम्भका लागि उपयोगी हुने तुलसी हृदयदौर्बल्य तथा रक्तविकारमा समेत लाभदायक रहन्छ। कच्छू,दद्रु आदिमा यसको पत्ता पिनेर लगाउन सकिन्छ। मूत्रकृच्छ,शुक्रमेह तथा त्वचागत विकारमा समेत तुलसीको प्रयोग गरिन्छ।

कास,श्वास,पार्श्वशूल,कर्णशूल,शिरोरोग तथा यक्षमा मा तुलसीको पत्रस्वरस प्रयोग गरिन्छ।दीपन,पाचन,अनुलोमन र कृमिघ्न कर्म गर्ने तुलसी प्रतिश्याय, विषमज्वर वा शीतप्रधान ज्वरमा उपयोगी रहन्छ।

वेदनाहर र शोथहरका रुपमा चिनिने तुलसी कफवातशामक र विषनिवारक रहन्छ। यसको प्रयोज्य अंग पत्र,पुष्प,बीज,मूल रहन्छ भने मात्रामा चूर्ण१-३ग्रा,स्वरस ५-१० मि.लि रहन्छ।