लकडाउनले खल्बल्याएको सामाजिक मनोविज्ञान

 

सुनिता बराल


विश्वव्यापी महामारी कोरोना भाइरसको चपेटामा फस्दै गईरहँदा संसारभर निरासा, वितृष्णा, कुण्ठा र आक्रोस फैलिईरहेको छ । नेपाल पनि यो अवस्थाबाट मुक्त छैन । अझ नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक वातावरणले गर्दा पनि होला सामाजिक मनोविज्ञानलाई कोरोनाले नराम्ररी हल्लाएको छ । सामाजिक सञ्जाल वा विविध सामाजिक घटनाहरुमा सामाजिक मनोविज्ञानलाई अध्ययन गर्न सकिन्छ । सामाजिक सञ्जालमा हेर्ने हो भने विहान कोरोनासंग तर्केर भाग्ने होइन विस्तारै अभ्यस्त भएर बानी पार्नुपर्छ भनेर सरकारले लकडाउन खोलेन भन्ने आशयका टिप्पणीहरु सरर्र हेर्न पाइन्छ । त्यही दिन दिउँसो स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनपछि त्यही मान्छेले सामाजिक सञ्जालमा लेख्छ घरै वरिपरि छ्याप्छ्याप्ती कोरोना आइसक्यो सडकमा हेर्दा जाम जत्तिकै मान्छे हिँडिरहेका छन् सरकारले लकडाउन प्रभावकारी बनाओस् ।


सुरक्षित हुने र कोरोनाबाट भाग्ने बहानामा परिवारभित्रै भागिरहेका छौं । लुकिरहेका छौं । कोरोना संग लुक्ने प्रयासमा हामी आफैंसंग भागिरहेका छौं । आफैंसंग लुकिरहेका छौं । सुरक्षित हुने प्रयासमा बढेको आत्मकेन्द्रित पनले आफूलाई सुरक्षित राख्ने प्रयाससंगै परिवार, समाज, सामाजिक दायित्व र मानवतालाई नै गुमाईरहेका छौं । आफैंसंग हारिरहेका छौं ।


यो कुनै एउटा व्यक्तिको सामाजिक सञ्जालको स्टाटस हैन । आम रुपमा देखिएको साझा प्रबृत्ति हो । कोरोना ग्रस्त सामाजिक मनोविज्ञानको चापमा बढी फ्रण्टलाइनरहरु परेका छन् । संक्रमित र परिवारका मान्छे तथा कन्ट्रयाक्ट ट्रेसिंगमा परेकाहरुप्रतिको सामाजिक मनोविज्ञान त झन् भयानक छ । छिमेकका मान्छेहरुले दैनिक गर्ने गरेका गुनासा र टिप्पणीहरुले पनि हाम्रो सामाजिक मनोविज्ञानमा कोरोनाले पारेको असर बुझाउन सहयोग गरेको छ । सिंगो मानव जीवन नै यो संकटमा उभिएको बेला अपरिचितहरुबीचमा समेत सहकार्य, सद्भाव र प्रेम देखिनुपर्ने बेला हाम्रो समाज एकांगी, आत्मकेन्द्रित र झन् स्वार्थी भएजस्तो अनुभूती भईरहेको छ । देशभित्र आफ्नो जिल्ला सुरक्षित भईदेओस् भन्ने, आफ्ने जिल्लाभित्र स्थानीय तह, स्थानीय तहभित्र आफ्नो वडा, वडाभित्र आफ्नो टोल । यसैगरी सुरक्षित हुने र कोरोनाबाट भाग्ने बहानामा परिवारभित्रै भागिरहेका छौं । लुकिरहेका छौं । कोरोना संग लुक्ने प्रयासमा हामी आफैंसंग भागिरहेका छौं । आफैंसंग लुकिरहेका छौं । सुरक्षित हुने प्रयासमा बढेको आत्मकेन्द्रित पनले आफूलाई सुरक्षित राख्ने प्रयाससंगै परिवार, समाज, सामाजिक दायित्व र मानवतालाई नै गुमाईरहेका छौं । आफैंसंग हारिरहेका छौं ।

विशेष गरी कोरोनासंग लडिरहेका फ्रण्ट लाइनरहरुले कोरोनाबाट सिर्जित सामाजिक मनोविज्ञानका कारण थुप्रै असहजताहरु व्यहोर्नुपरेको   छ । त्यो असहजताले उनीहरु, उनीहरुको परिवार र समाजमै नयाँ खालको मनोवैज्ञानिक र मानसिक समस्याहरु थपिइरहेको छ । जुन दीर्घकालीन समस्या बन्नेछ । हामी सबै भागेर एक्लिएर लुकेर कोरोना संग लड्न सकिन्नँ, सबै मिलेर एक आपसमा हार्दिकता, सद्भाव र मैत्रीको आदानप्रदानले कोरोनालाई जित्ने हो । कोरोनासंग हार्ने भन्दा जित्नेको संख्या निकै ठूलो छ । वास्तवमै कोरोनाको कारण मर्नेभन्दा कोरोनाको डरले, हामीले निर्माण गरेको सामाजिक मनोविज्ञानको दवावले आत्महत्या गर्नेहरुको अवस्था झन् भयावह छ । मानसिक रोगीहरुको संख्या अत्याशलाग्दो बढ्नेवाला छ । हामीले अवस्थालाई सामान्यीकरण गर्दै कोरोनाको कारण सिर्जित संकटहरुलाई सामान्यीकरण गर्दै जनजीवन सामान्य बनाउन नलाग्ने हो भने यसको दीर्घकालीन क्षती अपत्यारिलो हुनेवाला छ । विशेष गरी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अत्यावश्यकीय सेवामा हुनेहरुलाई हाम्रो समाजले सकारात्मक हेरिरहेको छैन । जोखिममा अत्यावश्यकीय सेवामा संलग्नहरुलाई भाडामा बस्न नदिने, त्यस्तो व्यक्तिलाई टोलमा बस्न नदिने जस्ता घटनाहरु सार्वजनिक भएका छन् ।

हालै मात्रै राजधानीको एक अस्पतालमा एक जना कोरोना संक्रमितको निधन भएपछि त्यहाँ कार्यरत नर्सको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आउँदा पनि घरवेटीले बस्न नदिएर दिन रात अस्पतालमै बस्नुपरेको थियो । सुरक्षाकर्मीमा संक्रमण पोजेटिभ भएको समाचार सुन्नासाथ सुरक्षाकर्मीहरुका परिवारसंग टोल नै टाढिएको समाचार आउने गरेको छ । यसले संकटको बेला अग्रभागमा काम गर्नेहरुप्रति हाम्रो सामाजिक मनोविज्ञान कति अनुदार भईरहेको छ अनुभव गर्न सकिन्छ । राजधानीमै यस्तो सामाजिक मनोविज्ञान निर्माण भएको छ कि जोखिममा म आफैं मात्र जोगिउँ अरु जे सुकै होउन् भन्ने मनोविज्ञान विकास भईरहेको छ ।


लकडाउन भएदेखि साँढे २ महिनाको विचमा ८ सय भन्दा बढीले आत्महत्या गरिसकेको तथ्यांक छ । यो कहालीलाग्दो अवस्था हो । यो विचमा महिला तथा वालवालिकामाथिको हिंसाका घटनाहरुको तथ्यांक उस्तै डरलाग्दो देखिन्छ । ५ सय भन्दा बढी घरेलु हिंसाका घटनाहरु भएको तथ्यांक आईरहेको छ । यो सामाजिक परिवेश र मनोवैज्ञानिक समस्याबाट सिर्जित दीर्घकालीन सामाजिक समस्या हो ।


दिनभरीको दौडधुपमा जिम्मेवारीले डरलाई जितेर कार्यक्षेत्रमा खटेको एउटा फ्रण्टलाइनर घरका सदस्यको समेत आशंका विच जिन्दगी गुजार्नुपर्ने अवस्थामा छ । यसरी कोरोनासंग लडिरहेको मानव सभ्यतालाई बचाउन सकारात्मक सोंच, क्रियाशीलता र आत्मविश्वास बाहेक अरुले सक्दैन । लकडाउन भएदेखि साँढे २ महिनाको विचमा ८ सय भन्दा बढीले आत्महत्या गरिसकेको तथ्यांक छ । यो कहालीलाग्दो अवस्था हो । यो विचमा महिला तथा वालवालिकामाथिको हिंसाका घटनाहरुको तथ्यांक उस्तै डरलाग्दो देखिन्छ । ५ सय भन्दा बढी घरेलु हिंसाका घटनाहरु भएको तथ्यांक आईरहेको छ । यो सामाजिक परिवेश र मनोवैज्ञानिक समस्याबाट सिर्जित दीर्घकालीन सामाजिक समस्या हो ।

एकखाले अभियन्ताहरु भनिरहेका छन् । अहिले लकडाउनले ८ जना भर्दा आत्महत्या गरी ८ सय जनाले ज्यान फ्याँकेका छन् । यसमा कोरोना कुनै न कुनै हिसावले कारक बनेको छ । ५ सय महिला हिंसामा अधिकांश कोरोनाका कारण भएको अप्रत्यक्ष देखिएको छ । कोरोनाका कारण रोजगारी गुमाएका, एक छाक खान धौधौ परेकाहरुको घरपरिवारको अवस्था कुन हालतमा पुगेको होला ? त्यसैले लकडाउन खोल्नुपर्छ भन्ने माग पनि उस्तै आईरहेको छ । यो सुझाव वा विकल्पको रुपमा भन्दा बढी पीडा बोलेको हो । निर्विकल्प भएपछि मान्छेको विकल्प भनेकै भिड्ने हो । यथार्थमा भन्ने हो भने विकल्प हुनेहरुले लकडाउन पालना गरेका छन् ।

आज कोरोना जितेर निस्कनेहरुलाई विदाईमा फूलमाला खादा लगाएर नाचगान गराएर विदाई गर्दै गर्दा मन्त्रीले भाषण गर्नुपरेको छ संक्रमितलाई सामाजिक बहिष्करणको व्यवहार नगर्नू । कुनै समय एचआइभी संक्रमितलाई गरिने भन्दा फरक नहुने गरी बहिष्कारको व्यवहार भएको छ कोरोना संक्रमितमा । जबकि विश्वव्यापी तथ्यांकहरुले नै देखाएको छ कोरोनाको संक्रमणको विस्तार मात्रै फराकिलो हो । मृत्युदर कम छ । संक्रमणलाई धैर्यता र साहस देखाउन सके सहजै जित्न सकिन्छ । यस्तो अवस्थामा कोरोनासंग डराउने र भाग्ने प्रयास गर्दा सिर्जना हुने दीर्घकालीन समस्याका कारण बढी पीडित नहोऔं ।

समाज आफैंले सामाजिक मनोविज्ञानमा असमानता, असहजता र पीडाहरु भोगिरहेको छ । यस्तो बेलामा सबै तहका सरकारहरुले आम नागरिकलाई भरोसा, उर्जा र उत्साह दिने तथा सिर्जनात्मक काम गर्नेतर्फ ध्यान दिन जरुरी छ । कोरोनाको संकटबाट उतार्न लकडाउनलाई अत्यन्त कडाइका साथ पालना गर्ने, लकडाउनमा बसेका आम नागरिक र क्वारेन्टाइनमा बसेकाहरुलाई उत्साह, आत्मविश्वास बढाउनका लागि मोटिभेसनका कामहरु गर्ने, दिक्दारीबाट मुक्त गर्न सिर्जनात्मक कामहरुमा केन्द्रित गराउने खालका कामहरु फ्रण्ट लाइनरहरुले गर्न जरुरी छ । कोरोनासंग जुध्न स्वास्थ्यकर्मीहरु स्वास्थ्य उपकरण लिएर जुट्नुभएको छ । सुरक्षाकर्मीहरु आफ्नै जिम्मेवारीमा जुट्नुभएको छ । सञ्चारकर्मी सूचना सम्प्रेषणमा जुट्नुभएको छ भने आम अगुवा सचेत नागरिकहरु सामाजिक मनोविज्ञान विग्रन नदिने प्रयासमा जुट्न जरुरी छ ।

कोरोनाको कारण लकडाउनमा रहेरै पनि सिर्जनात्मक कामहरु गर्ने, कोरोनाकै प्रभावका पनि सकारात्मक समाचार र तथ्यहरु सम्प्रेषण गर्ने, कोरोना पछि गर्ने कामहरुको योजना बनाउने, कोरोनाले सुधारेका बानीहरु सम्बन्धि अन्तरंग छलफलहरु गर्ने गर्नुपर्छ । यो अवधिमा धेरै कमजोर रहेका मान्छेहरुले प्रविधिको प्रयोगमा फड्को मारे । अधिकांश संघसंस्था कार्यालयहरुले भिडियो कन्फ्रेन्स मार्फत थुप्रै काम चलाए । इन्टरनेटमा आधारित प्रविधिले नयाँ पुस्ताको ज्ञान पुराना पुस्तामा हस्तान्तरण भयो । पुराना पुस्ताको रहनसहन र जीवनशैली नयाँ पुस्ताका लागि अनुकरणीय बन्यो । अघिल्लो पुस्ताले सिकाउँदा रुढीवादी भनेर छोडेका थुप्रै सांस्कारिक शैलीहरुलाई नयाँ पुस्ताले जीवनशैली सुधार्ने अचुक अस्त्रको रुपमा पायो । कोरोनाको कहरले ध्यान, योग, सदाचार, सात्विक आहार आदिप्रतिको आकर्षण बढायो ।

सारा विश्वले हतियार र सम्पतिले प्रभावमा विश्वलाई राख्दा सम्म प्रकृतिलाई राख्न नसक्ने भएकाले प्रकृति नै सर्बश्रेष्ठ हो भन्ने छाप नयाँ पुस्तामा पक्कै पनि परेको छ । प्रकृति पुजन संस्कृतिलाई जीवनपद्धति बनाउने अग्रजहरुको ज्ञानलाई नयाँ पुस्ताले ढोंग भन्दै आविश्कार र भौतिकतालाई प्रश्रय दिएकोमा एक पटक आफैंलाई घोत्लिन बाध्य बनाएको छ ।समग्रमा कोरोनाको एउटा संकटलाई भौतिक संकटको रुपमा त पक्कै पनि ढिलो चाँडो हामीले जित्छौं तर यससंग जोडिएको मानवीय संकट, यसको मानवीय प्रभाव र सामाजिक मनोविज्ञानलाई सुधार गर्न हामीले हामीलाई बदल्नुपर्छ । हाम्रा सामाजिक मनोविज्ञानहरुलाई बदल्नुपर्छ । कोरोनाुसंग भागेर हैन भिडेर जित्ने हो भन्ने कुरामा अभ्यस्त हुनुपर्छ । भिड्ने नाममा आक्रोस र असावधानीवश अन्यौलग्रस्त भुँवरीमा फस्न हुन्न भन्ने पनि सिकाएको छ ।